आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

इलामेली जनताले सुहाङ नेम्वाङलाई जिताउनेमा विश्वस्त छु : केपी ओली

दैनिक नेपाल २०८१ वैशाख १२ गते १८:०६

इलाम, १२ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ मा एमालेले अगाडि सारेको, नेकपा (माओवादी केन्द्र), नेकपा र परिवार दलको साझा उम्मेदवार सुहाङ नेम्वाङलाई इलामेली जनताले विजयी गराउनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

उहाँले इलामेली जनताको आत्मविश्वासले सुहाङले जित्ने पक्का भएको बताउनुभयो । उहाँले २०४८, ५१ सालमा एमालेले चुनाव लडे जस्तो समय नभएको बताउनुभयो । अध्यक्ष ओलीले त्यो बेलाको चुनाव सम्झँदै भन्नुभयो, ‘कम्युनिष्टले चुनाव जित्यो भने ६० वर्ष माथिकालाई गोली हानेर मार्छन् भनेर प्रचार गर्थे तर एमालेले जितेपछि घरमा भत्ता लिएर पुग्न थाल्यो ।’ उहाँले चुनावका बेला विपक्षी कम्युनिष्ट मार्छन् भन्ने सम्मको झुटा कुरा फैलाउने गरेको बताउनुभयो ।

‘अहिले केही साथीहरू विकास गर्छौँ भन्दै हिँड्नु भएको छ ।’ नेपाली कांग्रेसका तर्फबाट इलामको उपनिर्वाचनमा उम्मेदवार बन्नुभएका डम्बर खड्काप्रति लक्षित गर्दै उहाँले भन्नुभयो,‘ सबै तिरको बाटो बनेको छ । पैसा लिएर पनि बाटो बनाउन नसक्नेले इलाम बनाउन सक्दैन ।’ मदन भण्डारी राजमार्ग अन्तर्गत दमक चुलाचुली खण्ड बनाउने बाटोको ठेकेदार खड्का हुनुहुन्छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति इकिंत गर्दै भन्नुभयो ५ –५ पटक प्रधानमन्त्री हुँदा पनि केही काम नगरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘मित्र के काम गर्नु भो ? भनेर संसद्मा सोधेको जवाफ छैन् ।’

उहाँले आफू एक पटक प्रधानमन्त्री हुँदा जेष्ठ नागरिकको भत्ता बढाएको बताउनुभयो । उहाँले बालिकाहरूलाई विद्यालयमा सेनेट्यारी प्याडको व्यवस्था आफ्नो सरकारले गरेको बताउनुभयो । उहाँले स्कुलमा बच्चाका लागि खाजाको व्यवस्था कम्युनिष्टको सरकारले गरेको बताउनुभयो । उहाँले सडकमा अलपत्र परेका मानिसहरूको व्यवस्था गर्ने काम कम्युनिष्टले गरेको भन्दै कम्युनिष्टको सरकार भए देशमा कोही पनि भोकै नपर्ने बताउनुभयो । उहाँले कम्युनिष्टको सरकारले हुलाकी मार्ग बनाउन थालेको, मदन भण्डारी मार्ग बनाएको समेत दाबी गर्नुभयो ।

यसैगरी, उहाँले पहिचानका कुरा गरेर नेपाली समाजमा विभाजन ल्याउन थालेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘म जात जातिका कुरा गर्ने साथीहरूलाई भन्न चाहन्छु । एउटा जनजातिको छोरालाई कुन पार्टीले संविधान सभाको सभाध्यक्ष बनायो ? कुन पार्टीले जनजातिको छोरालाई कानुन मन्त्री बनायो ? दलितलाई राष्ट्रिय सभाको उपाध्यक्ष कसले बनायो ? पहिलो पटक महिलालाई रक्षा मन्त्री कसले बनायो ? थाहा हुनु पर्ने हो यो सब एमालेले बनाएको हो ।’

अध्यक्ष ओलीले अहिले दलित देखे दलितलाई भड्काउने, मधेश र पहाड भनेर झगडा लगाइदिने र राई र लिम्बुहरूकाबीचमा झगडा लगाउने काम अहिले भइरहेको बताउनुभयो । उहाँले सबैको भाषा, संस्कार र सस्कृतीको रक्षा गर्न एमाले लागेको दाबी गर्नुभयो । उहाँले पहिलो कुरा राष्ट्रिय पहिचान बचाउनु पर्ने बताउनुभयो । पहिचानको कुरा गरेर विद्वेष फैलाएर सही ठाउँमा पुग्न नसक्ने उहाँले बताउनुभयो ।

आफू र आफ्नो पार्टी पहिचान विरोधी नभएको उहाँले बताउनुभयो । उहाँले एमालेले जति दलितलाई माथि पुर्‍याउने, मुस्लिमलाई माथि पुर्‍याउने काम अरूले नगरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय एकता र विकासका लागि क्षमता र कर्मका आधारमा माथि पुग्नु पर्ने व्यवस्था कायम गर्न एमाले लागेको छ ।’ उहाँले अहिलेको प्रमुख समस्या गरिबी निवारण भएको र गरिबी निवारणमा एमाले लागेको बताउनुभयो ।

अध्यक्ष ओलीले भुइँचालोले भत्काएका साढे ८ लाख घर एमालेले बनाएको दाबी गर्नुभयो । उहाँले ठेक्का लिएर बाटो बनाउन नसक्नले देश बनाउँछु भन्ने कुरा पत्यान नसकिने बताउनुभयो ।

अध्यक्ष ओलीले देश ओरालो लागेकाले नयाँ समीकरण बनाएको बताउनुभयो । उहाँले सुदृढ राष्ट्रिय शक्ति निर्माणका लागि आजैबाट काम थाल्नुपर्ने बताउनुभयो । अस्वस्थ प्रतिस्पर्धा रोक्नका लागि पनि नयाँ समीकरण र वाम गठबन्धन बनेको बताउनुभयो । उहाँले भावनामा नबगी सुहाङलाई जिताउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित