मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

फिल्म ‘खजुरे ब्रो’मा देखिँदै हर्क साम्पाङ

दैनिक नेपाल २०८० माघ १४ गते ११:२७

काठमाडौं, १४ माघ । चलचित्र ‘खजुरे ब्रो’ मा धरान उपमहानगका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गर्नुभएको छ ।

चलचित्रमा मेयर साम्पाङको विशेष भूमिका रहेको छ । साम्पाङको चरित्रको छायांकन सकिएको चलचित्र निर्माण युनिटले जानकारी दिएको छ ।

‘धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य रहेकाले नगर प्रमुखको अवश्य नै भूमिका रहन्छ,’ कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भन्नुभयो, ‘चलचित्रमा उहाँको विशेष भूमिका हुनेछ ।’

चलचित्र ‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक लाइट कमेडी जनरामा आधारित व्यावसायिक चलचित्र हो । चलचित्रले धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ ।

दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा बनिरहेको चलचित्र ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गर्नुभएको हो ।

कमेडी जनरामा बन्ने चलचित्रको लेखक पनि निर्देशक सुनुवार नै हुनुहुन्छ । चलचित्रमा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ । ‘खजुरे ब्रो’ नीति शाहको डेब्यु चलचित्र हो । चलचित्रमा दार्जलिङ्गका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ ।

चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुनुहुन्छ । शिशिर बिसंखेले छायांकन गर्ने चलचित्रमा अनमोल गुरुङको संगीत रहेको छ ।

चलचित्र हाल धरानमा छायांकन भइरहेको छ । चलचित्रको सहनिर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहनुभएको छ ।

दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको चलचित्रमा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको रहेको छ । चलचित्र जेठ महिनामा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित