बिहीबार, १३ असार २०८१
DainikNepal.com
बिहीबार, १३ असार २०८१

८२५ जना शिक्षकहरूले राजनीतिक दलको आबद्धता त्यागे : शिक्षामन्त्री

दैनिक नेपाल २०८१ असार ४ गते १९:२८

काठमाडौं, ४ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको एकसय दिनको कार्यविवरण सार्वजनिक गर्दै शिक्षकलाई राजनीतिक दलको आबद्धता छाड्न लगाउनुलाई उपलब्धि बताउनुभएको छ ।

मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलनको गर्दै मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व गरेयता ८ सय २५ जना शिक्षकहरूले राजनीतिक दलसँगको आबद्धता त्याग गरेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा राजनीतिकरण आफ्नै कार्यकालमा अन्त्य गर्ने दाबी गर्नुभयो ।

शिक्षक सरुवाको मापदण्ड बनिसकेको उल्लेख गर्दै उहाँले त्यसका लागि निवमावलीका काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विशेष परिस्थितिका शिक्षकहरुको सरुवाका लागि २०८० सालमा एउटा निर्देशिका बनेको थियो । शिक्षक वास्तविक सरुवा कसरी गर्ने भनेर मापदण्ड बनाउने भनिएको थियो । तर, त्यो मापदण्ड नबनेको केसमा हामीले निर्देशिका बनाएका छौं । अब हामी शिक्षक पोर्टल बनाएर त्यसमा समाहित गर्नेछौं । निर्देशिका स्वीकृत भएको छ र नियमावली बनाउने काम भइरहेको छ ।’

शिक्षक विधेयक कहिले आउने भनेर आफूलाई निरन्तर प्रश्न आइरहेको बताउँदै उहाँले आफ्नो नियन्त्रणमा नरहेका कारण यकिनसाथ भन्न नसकिने बताउनुभयो ।

सरकारले मौखिक र लिखित रूपमा चाँडै ल्याउन आग्रह गरिसकेको उहाँको भनाइ छ ।

त्यस्तै, उच्च शिक्षामा उच्च पदाधिकारी नियुक्तिको लागि कार्यविधि तथा मापदण्ड बनाएर काम काम गर्न थालिएको उहाँले बताउनुभयो । शिक्षाका उच्च अधिकारी नियुक्ति गर्दा राजनीतिक भागबन्डाभन्दा पनि योग्यता, उपयुक्तता हेरेर गर्ने नजिर बसाउन थालेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित