आइतबार, १६ असार २०८१
DainikNepal.com
आइतबार, १६ असार २०८१

सात महिनाअघि रुसी सेनामा भर्ना भएका तनहुँका गुरुङको मृत्यु

दैनिक नेपाल २०८१ असार १३ गते ६:४५

तनहुँ, १३ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका-५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ ।

सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उहाँको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो । त्यसअगाडि भने परिवारसँग कुराकानी भइरहेको थियो ।’

गुरुङका साथीले आफूहरु द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा घटना भएको बताएको गुरुङले उल्लेख गर्नुभयो । ‘फोन गर्ने व्यक्तिले म पनि घाइते भएको छु भनेर रञ्जितका परिवारलाई जानकारी गराएका छन् ।’ गुरुङले भन्नुभयो ।

स्थानीय टेकबहादुर गुरुङले घटनाबारे जानकारी पाएपछि गाउँ शोकमा डुबेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘घटना सुनेदेखि सबै शोकमा हुनुहुन्छ । उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो । सोच्नै नसक्ने घटना भएको छ ।’

आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले घटनाले आफूहरुलाई स्तब्ध तुल्याएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘मेरो वडाले एक होनहार युवा गुमाएको छ ।’

रुसी सेनामा भर्ना भएका तनहुँका नौ जना परिवारको सम्पर्कमा छैनन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लाका नौ जना युवा रुसी सेनामा भर्ना भएको र आफन्तको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ ।

प्रतिक्रिया
सम्बन्धित