आइतबार, १६ असार २०८१
DainikNepal.com
आइतबार, १६ असार २०८१

विपद्मा परी २४ घण्टामा १४ जनाको मृत्यु, २ बेपत्ता

दैनिक नेपाल २०८१ असार १३ गते ६:५२

काठमाडौं, १३ असार । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना घटेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा हालसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ भने दुई जना बेपत्ता छन् ।

प्राधिकरणका प्रवक्ता उपसचिव डा. डिजन भट्टराईले ती घटनामा १० जना घाइते भएका र सबै क्षेत्रमा गरेर १९ लाखभन्दा बढी आर्थिक क्षति भएको जानकारी दिनुभयो । उहाँले विभिन्न क्षेत्रका १० ठाउँमा सडक अवरुद्ध भएको र १४ वटा पशु चौपायको क्षति भएको जानकारी दिनुभयो ।

प्राधिकरणबाट बुधबार साँझ प्राप्त विवरणअनुसार पहिरोबाट आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । चट्याङबाट पाँच जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।

बाढीबाट एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । एक घाइते छन् ।

डा. भट्टराईले ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका सेर्नाथुम्कीमा गएको पहिरोमा परी घाइते भएका दुई जनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको बताउनुभयो ।

प्राधिकरणका अनुसार विपद्ले बुधबार ओखलढुङ्गा, सङ्खुवासभा, सुनसरी, उदयपुर, इलाम, धनकुटा, लमजुङ, कास्की, मोरङ, झापा, रोल्पा, दैलेख र बागलुङ बढी प्रभावित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित