सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

दैनिक नेपाल २०८१ असार १५ गते ६:४६

काठमाडौं, १५ असार । जारी टी-२० विश्वकपको फाइनल खेल आज हुँदैछ । फाइनलमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदैछ ।

बरबाडोसमा हुने फाइनल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।

सेमिफाइनलमा भारतले इंग्ल्याण्ड र दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

भारत २०१४ पछि पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ । भारतले २००७ को टी-२० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन् । २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो ।

त्यस्तै, दक्षिण अफ्रिका भने पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिका यसअघि २०१४ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । त्यसअघि २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो ।

भारत र दक्षिण अफ्रिकाबीच अहिलेसम्म २६ टी-२० खेल भएका छन् । जसमा भारतले १४ खेल जितेको छ भने दक्षिण अफ्रिकाले ११ खेल जितेको छ । त्यस्तै, एक खेलको नतिजा आएको छैन् ।

भारतका लागि कप्तान रोहित शर्मा सबैभन्दा बढी सफल ब्याट्सम्यान देखिएका छन् । यस विश्वकपमा रोहितले ७ खेलमा ३ अर्धशतकसहित २४८ रन बनाएका छन् ।

त्यस्तै, सूर्यकुमार यादवले ७ खेलमा २ अर्धशतकसहित १९६ रन बनाएका छन् भने ऋषव पन्तले ७ खेलमा १७१ रन बनाएका छन् ।

त्यस्तै, भारतका लागि अर्शदीप सिंह सर्वाधिक सफल बलर रहेका छन् । उनले यस विश्वकपका ७ खेलमा कुल १५ विकेट लिँदै सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन् ।

त्यस्तै, भारतका जसप्रित बुमराहले १३ कुलदीप यादवले १० विकेट लिएका छन् ।

त्यसैगरी, दक्षिण अफ्रिकाका लागि यस विश्वकपमा क्वेंटन डिककले सर्वाधिक २०४ रन बनाएका छन् भने डेभिड मिलरले १४८ रन बनाएका छन् ।

त्यस्तै, दक्षिण अफ्रिकाका बलर एनरिक नोकियाले सर्वाधिक १३ विकेट लिएका छन् भने कागीसो रबाडाले १२ र ताब्रेज शाम्शीले ११ विकेट लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित