सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

कोस्टारिकालाई पराजित गर्दै कोलम्बिया क्वाटरफाइनलमा

दैनिक नेपाल २०८१ असार १५ गते ७:००

काठमाडौं, १५ असार । कोपा अमेरिका फुटबलमा कोलम्बिया क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान सकिएको खेलमा कोलम्बियाले कोस्टारिकालाई ३-० गोल अन्तरले पराजित गर्दै एक खेल अगावै अन्तिम ८ मा स्थान बनाएको हो ।

समूह ‘डी’मा कोलम्बिया ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कोस्टारिकाको पहिलो हार हो । यसअघिको खेलमा कोस्टारिका ब्राजिलसँग बराबरीमा रोकिएको थियो ।

एरिजोनामा भएको खेलमा कोलम्बियाले ३१औं मिनेटमा अग्रता लिएको थियो । कोस्टारिकाका गोलकिपर पेट्रिक सेक्वेराले कोलम्बियाका जोन कोर्डोबालाई फल गरेपछि पेनाल्टी दिइएको थियो । पेनाल्टीलाई लुइस डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए ।

५९औं मिनेटमा जोन एरियासले दिएको पासमा डेविसन सान्चेजले हेडर गोल गर्दै अग्रता दोब्बर बनाए । ६२औं मिनेटमा जेम्स रोड्रिगेजले दिएको थ्रो बलमा जोन कोर्डोबाले राइटफुटेड सट प्रहार गर्दै गोलमा परिणत गरेका थिए ।

३-० को सहज अवस्थालाई अन्तिमसम्म कायम राख्दै कोलम्बियाले महत्वपूर्ण ३ अंक लिन सफल भयो । सोही जितसँगै कोलम्बिया एक खेल अगावै कोपाको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यही समूहमा रहेका पाराग्वे र ब्राजिलबीच आजै प्रतिस्पर्धा हुँदै छ । क्वाटरफाइनल पुग्नका लागि दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ ।

समूह चरणको अन्तिम खेलमा जुलाई ३ तारिखमा ब्राजिल र कोलम्बिया तथा कोस्टारिका र पाराग्वे आमने सामने हुने छन् ।

प्रतिक्रिया
सम्बन्धित