सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

युरोकप : आजदेखि नकआउट चरणका खेल, जर्मनी र डेनमार्क भिड्दै

दैनिक नेपाल २०८१ असार १५ गते ११:१०

काठमाडौं, १५ असार । जारी युरोकपमा आजदेखि नकआउट चरणका खेलहरु हुँदै छन् । नकआउट चरणको खेलमा आज जर्मनी र डेनमार्क खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२ः४५ बजेदेखि सुरु हुँदैछ ।

युरोकपको आयोजकसमेत रहेको जर्मनीले समूह ‘ए’ मा ३ खेल मध्ये २ जित र एक बराबरीसहित शीर्ष स्थानमा रहँदै नकआउटमा पुगेको छ ।

त्यस्तै, डेनमार्कले समूह ‘सी’बाट तीनै खेल बराबरी खेलेर दोस्रो स्थानमा रहँदैनकआउटमा पुगेको हो ।

जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ । जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो ।

त्यस्तै, डेनमार्कले १९९२ मा युरोकप जितेको थियो । त्यसयता डेनमार्क युरोकपको फाइनलमा पुग्न सकेको छैन ।

जर्मनी र डेनमार्कबीच अहिलेसम्म २८ खेल भएका छन् । जसमा जर्मनीले १५ खेल जितेको छ भने डेनमार्कले ८ खेल जितेको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।

नकआउट चरणमा को-को खेल्दै छन् ?

२४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नकआउट चरणमा पुगेका छन् । जसमा हरेक समूहका समूह विजेता र उपविजेता गरी १२ देश नकआउटमा पुगेका छन् भने हरेक समूहका तेस्रो स्थानमा रहेका शीर्ष चार देश नकआउट चरणमा पुगेका छन् ।

जसमा समूह ‘ए’बाट जर्मनी विजेता र स्वीजरल्याण्ड उपविजेता बन्दै नकआउटमा पुगेका छन् भने हंगेरी र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन् ।

त्यस्तै, समूह ‘बी’बाट स्पेन समूह विजेता र इटाली उपविजेता हुँदै नकआउटमा पुगेका छन् भने क्रोसिया र अल्बानिया बाहिरिएका छन् ।

त्यस्तै, समूह ‘सी’बाट इङल्याण्ड विजेता र डेनमार्क उपविजेता हुँदै नकआउटमा पुगेका छन् ।

त्यस्तै, स्लोभेनिया तेस्रो स्थानमा रहेर नकआउटमा पुगेको छ । यस समूहबाट सर्बिया बाहिरिएको छ ।

त्यस्तै, समूह ‘डी’बाट अस्ट्रिया विजेता र फ्रान्स उपविजेता हुँदै नक आउटमा पुगेको छ । त्यस्तै, नेदरल्याण्डस तेस्रो हुँदै नक आउटमा पुगेको छ ।

त्यसैगरी, समूह ‘ई’ बाट रोमानिया विजेता र बेल्जियम उपविजेता हुँदै नकआउटमा पुगेको छ भने स्लोभाकिया तेस्रो स्थानमा हुँदै नकआउटमा पुगेको छ ।

त्यस्तै, समूह ‘एफ’बाट पोर्चुगल विजेता र टर्की उपविजेता हुँदै नकआउटमा पुगेको छ भने जर्जिया तेस्रो स्थानमा रहँदै नकआउटमा पुगेको छ ।

अब नकआउट चरणमा स्पेन र जर्जिया खेल्ने छन् भने जर्मनीले डेनमार्कको सामना गर्ने छ ।

त्यस्तै, पोर्चुगलले स्लोभेनियाको सामना गर्ने छ भने फ्रान्सले बेल्जियमको सामना गर्ने भएको छ ।

त्यसैगरी, रोमानियाले नेदरल्याण्डसको सामना गर्ने छ भने अस्ट्रियाले टर्कीको सामना गर्ने छ ।

त्यस्तै, इङल्याण्डले स्लोभाकियाको सामना गर्ने छ भने स्वीजरल्याण्डले इटालीको सामना गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित