सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

महालेखा परीक्षकलाई संसद्ले सक्दो सहयोग गर्छ : सभामुख

दैनिक नेपाल २०८१ असार १५ गते १३:०५

काठमाडौं, १५ असार । सभामुख देवराज घिमिरेले संघीय संसद्को तर्फबाट महालेखा परीक्षकको कार्यालयलाई आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभएको छ ।

शनिबार महालेखा परीक्षकको ६६औँ वार्षिकोत्सव समारोहमा उहाँले मुलुकको सार्वजनिक वित्तीय व्यवस्थापन, आर्थिक अनुशासन र स्रोत साधनको परिचालनका विषयमा अपेक्षित सुधार आवश्यक रहेको भन्दै त्यसमा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मुलुकको सार्वजनिक वित्तीय व्यवस्थापन, आर्थिक अनुशासन, स्रोत साधनको परिचालन र स्थिती तथा सेवा प्रवाहलगायतका विषयमा देखिएका सुझाव कार्यान्वयन गरी अपेक्षित सुधार हुन जरुरी छ । संघीय संसद्को तर्फबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास दिलाउन चाहन्छु ।’

महालेखा परीक्षणको कार्यालयले वार्षिक प्रतिवेदनमार्फत उठाइएका विषयवस्तु तथा व्यहोरालाई संघीय संसद्, प्रदेश सभा तथा गाँउ, नगर सभाले गम्भीरतापूर्वक नलिएको भन्दै यसमा सरोकारवाला निकायले ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महालेखा परीक्षणको कार्यालयले वार्षीक प्रतिवेदनमार्फत उठाइएका विषयवस्तु तथा व्यहोरालाई संघीय संसद, प्रदेश सभा तथा गाउँ नगर सभाले गम्भीरतापूर्वक लिइ प्रतिवेदन कार्यान्वयन विशेष ध्यान पुर्‍याउनुपर्नेमा विगतका प्रतिवेदन कार्यान्वयन नभई एकै प्रकृतीका व्यहोरा वर्षेनी पुनरावृद्धि हुन नदिन सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने कुरा हो र अहिलेको जिम्मेवारी रहेको ठानेको छु ।’

राज्यको स्रोत, साधन र कोष सञ्चालना गर्ने सबै निकायले जिम्मेवारी र जवाफदेहीता बहन गर्दै वित्तीय अनुशासन पालनामा अग्रणी भूमिका निर्वाह गरी अनियमितता र बेरुजु हुनै नपाउनेगरी काम गर्ने अपेक्षा राखेको उहाँको भनाइ छ ।

महालेखा परीक्षणले प्रस्तुत गर्ने प्रतिवेदन संसदको सार्वजनिक लेखा समितिमा समेत छलफल गरी टुङ्गाउनुपर्ने भएकाले प्रतिवेदनमा समावेश हुने विषयवस्तुहरुको नियमित रुपमा छलफल गर्दै समयमा नै बेरुजुको विषय निरुपण गरी जवाफदेहीता अभिवृद्धि गर्न सभामुखको सुझाव थियो ।

प्रतिक्रिया
सम्बन्धित