सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

नेकपा एसमा गुटबन्दी नभएको झलनाथ खनालको दाबी

दैनिक नेपाल २०८१ असार १५ गते १३:४०

काठमाडौं, १५ असार । नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र गुटबन्दी लागू नहुने दाबी गर्नुभएको छ । आफूहरुले पार्टीभित्र गुटबन्दी नचाहेको र पार्टीलाई आपसी छलफल एवम् बहसमार्फत अघि बढाउन प्रतिबद्ध रहेको बताउनुभयो ।

शनिबार पार्टीको दशौं महाधिवेशन सम्बन्धमा जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता खनालले जसको नीति उसकै नेतृत्व भन्ने मूल आधारमा पार्टी सञ्चालन गर्ने बताउनुभयो । साथै, नेकपा एसले पूरानै पदाधिकारी संख्यालाई निरन्तरता दिएको प्रस्ट्याउनु भयो ।

‘पार्टी संगठन भनेकै कमरेडहरुलाई व्यवस्थापन गर्ने संरचना हो, यो स्वभाविक हो । पार्टीको सातौं महाधिवेशनसम्म एउटा नेता भए आठौंदेखि विभिन्न पदहरु सिर्जना गर्‍यौँ । त्यही पदको आधारमा व्यवस्थापन गर्दै आएको हो । विचार र व्यवस्थापन दुवैको सन्तुलन मिलाएर हामी अगाडि बढ्नुपर्ने हुन्छ । पार्टी सुरु गर्दा पनि २१ वटै पदाधिकारी थिए । अहिले पनि त्यसैलाई कायम गरौं भन्ने सहमति भएको हो, धेरै बढाएको भन्ने कुरा होइन ।’ खनालले भन्नुभयो । तर उहाँले कसलाई कुन पद दिने भन्ने सन्दर्भमा आन्तरिक छलफल गरिरहेकाले चाँडै यो विषय टुंग्याउने जानकारी दिनुभयो ।

यस्तै, उहाँले पार्टीभित्र गुटबन्दी नहुने बताउनुभयो । आफूलाई गुटबन्दी भन्ने थाहै नभएको चर्चा गर्दै नेता खनालले पार्टीभित्र गुटबन्दी नहुने दाबी गर्नुभएको हो ।

‘जहाँसम्म गुटगत भेलाका कुरा छन् मैले त्यो गुटबन्दी भन्ने चिज जान्दै जान्दिन् । गरेँ भने पनि जान्दिन । उहाँहरुले नि गर्नुभएको जस्तो मलाई लाग्दैन । हामी नेताहरुसँग विभिन्न कमरेडहरु आउनुहुन्छ, कहिले यता कहिले उता छलफल गर्छौँ । कहिले होटलमा, कहिले रेस्टुरेन्टमा होला, कहिले घरमा यस्ता छलफलहरु भइरहन्छ । यो गुटबन्दी होइन एक आपसको छलफलको कुरा हो ।’ उहाँले थप्नुभयो, ‘गुटबन्दी नै साँच्चै भएको छ भने चाँही त्यो गलत कुरा हो । पार्टीले त्यसको विरोध गर्छ ।’

यस्तै, उहाँले पार्टीभित्र गुटबन्दी आफूहरुले नचाहेको उल्लेख गर्दै त्यसकाविरुद्ध पार्टी दृढ प्रतिबद्ध रहेको बताउनुभयो ।

खनालले पार्टीको महाधिवेशनले नयाँ वैचारिक भूकम्प सिर्जना समेत जिकिर गर्नुभएको छ ।

‘नेपालको समाजवादी कार्यक्रमलाई समेटेर महाधिवेशनले नयाँ वैचारिक भूकम्प सिर्जना गर्छ, जसले नेपालको सम्रग कम्युनिष्ट आन्दोलनलाई रूपान्तरण गर्ने, परिवर्तन गर्ने र समाजवादलाई सुनिश्चितता गर्दछ ।’ उहाँले भन्नुभयो ।

संविधानमा समाजवाद भएपनि त्यसको व्याख्या नभएको बताउनुभएका खनालले व्याख्या आफ्नो पार्टीले गर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित