सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

अमेरिकी दूतावासमा ‘प्राइड मन्थ’बारे चर्चा

दैनिक नेपाल २०८१ असार १५ गते १७:३८

काठमाडौं, १५ असार । विश्वभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूदायका व्यक्ति एवं संस्थाहरुले जुन महिनालाई ‘प्राइड मन्थ’का रुपमा मनाइरहेका छन् । यसै सिलसिलामा प्राइड महिनाको सम्मानमा, काठमाडौंस्थित अमेरिकी दूतावासले विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै दूतावासभित्र विशेष प्यानल छलफल आयोजना गरेको छ ।

प्यानलमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूहका व्यक्तिहरु सिम्रन शेरचन (फेडेरेसन अफ सेक्शुअल एण्ड जेन्डर माइनोरिटिज नेपाल), शैली चौधरी (दलित लाइभ्स म्याटर), सुदीप गौतम (युनिटी फर चेन्ज), र सुभाष काफ्ले (ब्लु डायमण्ड सोसाइटी) सहभागी भएर अधिकारका विषयमा बहस गर्नुभयो ।

कार्यक्रमले समुदायभित्रका आवाजलाई बलियो बनाउन र अर्थपूर्ण संवादका लागि मञ्च तथा सुरक्षित स्थान प्रदान गर्ने उद्देश्य राखेको दूतावासले जनाएको छ ।

छलफलले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूहका व्यक्तिहरुका अधिकारमा भएको प्रगति, समुदायभित्रको अन्तरसम्बन्धितताको महत्व, उनीहरुको दृढता र शक्तिलाई उजागर गर्ने व्यक्तिगत अनुभवहरूलाई विशेष रूपमा प्रस्तुत गरेको थियो ।

हरेक वर्षको अंग्रेजी जुन महिनालाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले गौरव महिनाको रुपमा मनाउँदै आएका छन् । अन्तर्राष्ट्रिय प्राईड मन्थले समुदायप्रति हुने गरेका हरेक किसिमको फोबिया विरुद्ध एकजुट भएर लड्ने प्रण गर्दछन् ।

प्राइड महिनालाई सन् १९६९ मा स्टोनवॉल दंगाहरूसँग सुरु भएको समानताको लागि संघर्षको इतिहासलाई सम्झदै र साहसी व्यक्तिहरूले गरेका बलिदानहरूको सम्मान गर्ने गरिन्छ । महिनाभर रंगीन परेडहरू, संगीत, नाचगान गर्दै एकअर्कासंग खुशी साट्दै मनाउने चलन छ ।

प्रतिक्रिया
सम्बन्धित