सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

तराईमा बाढी, पहाडमा पहिरोको कहर : २४ घण्टामा नौ जनाको मृत्यु

दैनिक नेपाल २०८१ असार १५ गते १९:२७

काठमाडौं, १५ असार । अविरल वर्षासँगै तराईमा बाढी र पहाडमा पहिरोको कहर सुरु भएको छ ।

बाढी र पहिरोको कारण बितेको २४ घण्टामा मात्र सयौं जना विस्थापित भएका छन् भने नौ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण गुल्मीको मालिका गाउँपालिका-६ कँडेलपाटा बस्ने ५५ वर्षीय भेषबहादुर विकको घर गएराति माथिबाट ढुङ्गा, माटोसहितको पहिरो आई पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर भेषबहादुर, उहाँकै श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनीहरू ८ वर्षीया सपना विक र ८ महिनाको विपना विकको मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी ईश्माबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा उद्दार एवम् खोजी गर्ने क्रममा उहाँहरूको शव फेला परेको हो ।

स्याङजा, अविरल वर्षाको कारण फेदीखोला गाउँपालिका-५ बाँगे बस्ने दुर्गा जिटीको घर र गोठ पहिरोले पुरिँदा एकै परिवारका आमाछोरीको शुक्रबार राति मृत्यु भएको छ । पहिरोले पुरिएर घरमा सुतिरहनुभएकी ३१ वर्षीया दुर्गा जिटी र उहाँकै छोरी ३ वर्षीया निसिका जिटीको घटनास्थलमै मृत्यु भएको हो ।

बागलुङ, अविरल वर्षाको कारण गल्कोट नगरपालिका-८ बिसौना बस्ने ५५ वर्षीय प्रेम विकको घर पहिरोले पुरिँदा विक र उहाँकै श्रीमती ५० वर्षीया वसन्ती विकको शनिबार बिहान मृत्यु भएको छ । पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हटिया र इलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो ।

पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित