मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अनिश्चित, प्रक्रिया अघि बढाउन महासंघमा धर्ना

दैनिक नेपाल २०८१ असार १५ गते २०:०१

काठमाडौं, १५ असार । नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अनिश्चित बनेको छ । महासंघको केन्द्रीय नेतृत्व चयनको लागि आज शनिबार बिहान १० बजेबाट मनोनयन दर्ताको समय तोकिएकोमा निर्वाचन समितिले बिहान विज्ञप्ति जारी गरी निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको छ । मनोनयन दर्ताको दिन निर्वाचनको कार्यक्रम स्थगित भएपछि निर्धारित समय असार २२ गते मतदान हुने कुरामा आशंका पैदा भएको छ ।

निर्वाचन समितिले महासंघले दिएको मतदाताको अन्तिम नामावली प्रकाशित गरेपछि त्यसमा असहमति जनाउँदै प्रेस युनियनमा आबद्ध पत्रकारहरूले शुक्रबार निर्वाचनमा खटिएका कर्मचारीलाई हातपात गरेका थिए । नेपाल पत्रकार महासंघले राति विज्ञप्ति निकालेर यस कार्यको विरोध जनाएको थियो ।

निर्वाचन भाँड्न खोजेको भन्दै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायतका पत्रकारका पेसागत संगठनले विरोध जनाएका थिए । निर्वाचनको कार्यक्रम कुनै पनि हालतमा परिवर्तन गर्न नहुने माग उनीहरूले राखेका थिए ।

निर्वाचन समितिले असहज वातावरणको कारण निर्वाचन कार्यक्रम अघि बढाउ नसकिने जनाएको छ । ‘निर्वाचनको कार्यक्रमअन्तर्गत उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया अगाडि बढी रहेको अवस्थामा तत्काल सृजित असहज वातावरणका कारणले तत्कालका लागि निर्वाचनको कार्यक्रम अगाडि बढ्न नसक्ने जानकारी गराइन्छ ।’ शनिबार निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तथापि निर्वाचन समितिले नेपाल पत्रकार महासंघले तोकेको असार २२ गते निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाएको छ । तर मनोनयन दर्ता प्रक्रियामा नै समस्या आएपछि तोकिएको मितिमा निर्वाचन हुने कुरामा आशंका उत्पन्न भएको छ ।

यसैबीच, निर्वाचन प्रक्रिया रोकिएको भन्दै प्रेस चौतारी नेपाल, प्रेस संगठन, समाजवादी प्रेस संगठनलगायतमा आबद्ध पत्रकारहरूले शनिबार दिनभरि नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । निर्वाचन प्रक्रिया अघि बढाउन माग गर्दै पत्रकारहरुले धर्ना दिएका हुन् ।

प्रेस युनियन आबद्ध पत्रकारहरूले गरेको अवरोध हटाउनु पर्ने, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिनुपर्ने, निर्वाचन प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै उनीहरूले नाराबाजी गरेका थिए । यसक्रममा प्रेस युनियन आबद्ध पत्रकारहरूसँग घचेडाघचेडसमेत भएको थियो ।

असमझदारी हटाई निर्वाचन प्रक्रिया अघि बढाउने विषयलाई लिएर प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलबीच केही बेर छलफल पनि भएको थियो । तर कुनै निष्कर्ष निस्कन सकेन ।

प्रतिक्रिया
सम्बन्धित