मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

खेतीयोग्य जमिन खण्डीकरण भएर घडेरीमा परिणत हुनु चिन्ताको विषय : उपमहासचिव ज्ञवाली

दैनिक नेपाल २०८१ असार १६ गते ७:११

भक्तपुर, १६ असार । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले खेतीयोग्य जमिन खण्डीकरण भएर घडेरीमा परिणत हुनु चिन्ताको विषय भएको बताउनुभएको छ ।

एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा शनिबार अखिल नेपाल किसान संघले चाँगुनारायण नगरपालिका‐९ ताथली माथिल्लो सौडोलमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा उहाँले जथाभावी जग्गा खण्डीकरण रोक्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जग्गा खण्डीकरण भएर खेतीयोग्य जमिन मासिँदै छ, आजको दिनलाई धान दिवस होइन, घरेडी दिवस भनेर व्यङ्य गर्न थालिसकेका छन् । खेती भइरहेका जग्गालाई पनि आवश्यक मल छैन, गुणस्तरीय बीउबिजन छैन । किसानको समस्या समाधान गर्नेगरी सरकार अगाडि बढ्नुपर्छ ।’

उहाँले किसानलाई जतिबेला चाहियो त्यतिबेला मल, गुणस्तरीय बीउबिजन र आवश्यकतानुसार सिँचाइको प्रबन्ध हुनेगरी व्यवस्था गर्नुपर्ने आवश्यक औँल्याउँदै सरकारले मल काराखाना खोल्नुपर्ने बताउनुभयो । उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘वास्तविक रूपमा कृषिलाई पेसा बनाउनेलाई पुग्नेगरी भाडामा जग्गा दिने व्यवस्था गरिनुपर्छ, त्यहाँ पर्याप्त सिँचाइको व्यवस्था गरिनुपर्छ, गुणस्तरीय बीउबिजन र आधुनिक प्रविधिको व्यवस्था गरिनुपर्छ ।’

उहाँले राज्यको दिने अनुदान सिधै किसानको हातमा जानेगरी व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले विदेशबाट गुणस्तर परीक्षण नगरी आउने बीउबिजन र विषादीको आयातलाई रोक्नुपर्ने औँल्याउनुभयो । सरकारले पोल्ट्रीफार्मलाई आत्मनिर्भर बनाएजस्तै अन्य खाद्यबाली, तरकारी र फलफूलमा पनि आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेशसभा सदस्य किरण थापा र सकुन्तला श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष बचन देउजालगायतले किसानसँगै बाउसे र रोपाइँ गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित