मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

बलियो संसद लोकतन्त्रको आधारशीला : सभामुख

दैनिक नेपाल २०८१ असार १६ गते १०:०३

काठमाडौं, १६ असार । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बलियो संसद लोकतन्त्रको आधारशीला भएको हुँदा संसदलाई लोकतन्त्रको मन्दिरका रुपमा लिइँदै आएको बताउनुभएको छ ।

संसद दिवसका अवसरमा आइतबार शुभकामना सन्देशमा जारी गर्दै सभामुख घिमिरेले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने उल्लेख गर्नुभएको छ ।

संसदप्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्‍याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।

‘बलियो संसद लोकतन्त्रको आधारशीला हो । त्यसैले संसदलाई लोकतन्त्रको मन्दिरको रुपमा लिइन्छ । लोकतान्त्रिक संसदको आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो । संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा नेपालको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व हामी सबैको हो । कानून निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिन्छ ।’ सभामुखद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वि.सं. २०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।

संसद स्थापनाको स्मरण गर्दै संघीय संसद र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम गर्दै संसद दिवस मनाउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित