मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

कृषि प्रधान नेपालमा १२ अर्ब ४३ करोड रुपैयाँ बराबरको धान आयात

दैनिक नेपाल २०८१ असार १६ गते १०:५७

काठमाडौं, १६ असार । नेपाललाई कृषिमा आत्म निर्भर बनाउने योजना दशकौं पूरानो हो । शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रममा धान उत्पादन बढिरहेको दाबी गर्नुभयो ।

धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिँदै सरकारले आगामी दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम बजेटमा प्राथमिकतामा राखिएको बताउनुभयो ।

धानमा आत्मनिर्भर हुन व्यवसायिक खेती प्रणाली, सिचाइँको सुविधा, यान्त्रिकीकरणलाई प्राथमिकतामा राखिने प्रधानमन्त्रीको भनाइ थियो । तर नेपालमा धान उत्पादनको अवस्था भारतबाट आयत हुने चामलको तथ्यांक हेर्दा टिठलाग्दो छ । सरकारी उपेक्षा कारण वर्षेनी कृषि उपज मात्रै ३ खर्ब रुपैयाँ बराबरको आयात भइरहेको तथ्यांक छ ।

प्रधानमन्त्रीदेखि कृषि मन्त्रीसम्मले आगामी बर्षमा मुलुक धानमा आत्मनिर्भर बन्ने भनेर घोषणा गर्दै आइरहनुभएको छ । तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निकायहरुले सार्वजनिक गरेको तथ्यांकमा चालु आर्थिक वर्षको एघार महिनामा १२ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको ३ लाख ७ हजार ४ सय १७ मेट्रिक टन धान आयात भएको छ ।

यस्तै, ८ अर्ब ६९ करोड १७ लाख रुपैयाँ बराबरको विभिन्न प्रकारको ८२ हजार ७ सय ९१ मेट्रिक टन चामल पनि आयात भएको छ । नेपालमा ८० लाख टन धानको माग छ । हाल स्वदेशमा वार्षिक ५१ देखि ५५ लाख टन हाराहारीमात्रै धान उत्पादन भइरहेको छ । मागअनुसार वार्षिक करिब ३० लाख टन धान अपुग छ ।

एक सय किलो धानबाट ६० किलो चामल तयार हुन्छ । तर, अहिले ३० लाख ६० हजार चामलमात्रै उत्पादन भइरहेको छ । चामलमात्रै साढे १७ लाखदेखि १८ लाख टन अभाव रहेको आंकलन गरिएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ मै नेपालमा १३ लाख ३४ हजार २७७ हेक्टरबाट ५२ लाख ३ हजार ४ सय २६ मेट्रिक टन धान फलेको थियो ।

त्यस्तै, गत आर्थिक वर्ष २०७९/८० मा २० अर्ब ७५ लाखको धान र १५ अर्ब ९१ करोडको चामल आयात भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित