बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

कानूनमन्त्री पन्थीद्वारा पहिरोबाट पाँचजनाको मृत्यु भएको मालिका-६ को स्थलगत निरीक्षण

दैनिक नेपाल २०८१ असार १७ गते १०:३६

गुल्मी, १७ असार । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री दिनेश पन्थीले पहिरो प्रभावित गुल्मीको मालिका गाउँपालिका–६ को स्थलगत निरीक्षण गर्नु भएको छ ।

मालिका गाउँपालिका–६ अर्जे, ठाँटीस्थित भेषबहादुर विकको घर पहिरोले घर पुरिँदा एकै परिवारको पाँचजनाको मृत्यु भएको थियो । ५६ वर्षीय विकको घर पहिरोले पुरिँदा विकसहित उहाँकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता, दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपनाको मृत्यु भएको थियो ।

उहाँले घटनास्थलको निरीक्षण गर्दै मृतक परिवारका आफन्तलाई भेटेर सरकारकोतर्फबाट तत्काल आवश्यक सहयोगको व्यवस्थापन मिलाउनु भएको हो ।

घटनास्थलको निरीक्षण पश्चात मन्त्री पन्थीले भन्नुभयो, ‘अत्यन्तै दुःखद घटना भयो । प्राकृतिक विपत्तिलाई न्यूनिकरण गर्न र रोक्न सबैको सहयोग सहकार्य जरुरी छ । सरकार जनताको साथमा छ । हामी सरकारको तर्फबाट सक्दो सहयोग उपलब्ध गराछौं । ’

मन्त्री पन्थीका सचिवालय प्रमुख खिमानन्द भन्डारीले जिल्ला विपत कोष मार्फत पीडित परिवारलाई तत्काल ११ लाख रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित