बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

एमाले केन्द्रीय लेखा आयोगद्वारा १११ वटा कमिटीको लेखापरीक्षण सम्पन्न

दैनिक नेपाल २०८१ असार १७ गते ११:१७

काठमाडौं, १७ असार । नेकपा (एमाले) केन्द्रीय लेखा आयोगले आर्थिक वर्ष २०८०/०८१ मा आयोगको दायरा अन्तर्गतका १११ वटा कमिटीको लेखापरीक्षण सम्पन्न गरेको छ । आयोगका अध्यक्ष डा. पुष्प कंडेलको अध्यक्षतामा यही असार १३ र १४ गते भक्तपुरको नगरकोटमा सम्पन्न आयोगको एघारौं पूर्ण बैठकले वार्षीक कार्ययोजना कार्यान्वयनको समीक्षा गर्दै अब ४६ वटा कमिटीको मात्र लेखापरीक्षण बाँकी रहेको जनाइएको हो ।

आयोगको लेखापरीक्षण दायरामा पार्टीको केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, महानगर कमिटी, उपमहानगर कमिटी र जनसङ्गठनहरू गरी १५७ कमिटी रहेका छन् । हालसम्म पार्टी केन्द्रीय कमिटी, ९ वटै प्रदेश तहका कमिटी, ८० जिल्ला तहका कमिटी, ३ महानगर कमिटी र २ उपमहानगर कमिटी तथा १६ वटा जनसङ्गठन गरी लेखा आयोगको दायराअन्तर्गतका १११ कमिटीहरूको लेखापरीक्षण सम्पन्न भएको र बैठकले वार्षिक कार्ययोजनाको समीक्षा गर्दै अधिकांश कार्ययोजना कार्यान्वयन भएको निष्कर्ष निकालेको छ ।

बैठकले लेखा परीक्षण बाँकी रहेका कमिटीहरूको लेखापरीक्षण यही २०८१ असार मसान्तसम्म पनि नगर्ने/नगराउने कमिटी र सम्बन्धित कमिटीका अध्यक्षहरूको विवरण पार्टी केन्द्रीय सचिवालय, सङ्गठन विभाग र अनुशासन आयोगलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ । यस्तै, बैठकले आर्थिक वर्ष २०८१/०८२ को लागि वार्षिक कार्ययोजना पारित गर्दै २०८१ कात्तिक मसान्तभित्रमा सबै पार्टी कमिटी र जनसङ्गठनको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण सम्पन्न गर्ने, पार्टी कमिटी र जनसङ्गठनहरूलाई लेखा व्यवस्थापन सम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने, आर्थिक कामको अनुगमन गर्ने, लेखा राष्ट्रिय समीक्षा भेला आयोजना गर्ने, पार्टी नेतृत्वसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने, आर्थिक कामका आधारमा पार्टी कमिटी र जनसङ्गठनको मूल्याङ्कन गर्ने, नयाँ सफ्टवेयर सञ्चालनमा ल्याउन पार्टी केन्द्रलाई अनुरोध गर्ने, पार्टीको स्थिर सम्पत्तिको अभिलेख तयार गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ ।

यसका साथै, बैठकले व्यक्तिगत योगदानका आधारमा आयोगका सबै पदाधिकारी र सदस्यहरूको सात लाख पचासहजार बराबरको सामूहिक दुर्घटना बीमा गराउने समेत निर्णय गरेको छ । आयोगले लेखापरीक्षणको काम स्थलगत रूपमा सम्पन्न गर्ने र आयोगका पदाधिकारी तथा सदस्यहरू कार्यसम्पादनका लागि विभिन्न प्रदेश तथा जिल्ला यात्रामा जानुपर्ने परिस्थितिलाई ध्यानमा राखेर सामूहिक दुर्घटना बीमा गर्ने निर्णय गरेको हो ।

बैठकको समापन गर्दै आयोगका अध्यक्ष कंडेलले निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लेखा व्यवस्थापनमा प्रभावकारिता ल्याउन आयोगका सबै पदाधिकारी र सदस्यलाई आ–आफ्नो परिभाषित काममा खटिन निर्देशन दिनुभएको आयोगका सचिव शिव अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित