बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

एमाले महान् उद्देश्य र गन्तव्य बोकेर अघि बढेको पार्टी हो : अध्यक्ष ओली

दैनिक नेपाल २०८१ असार १७ गते १८:०२

काठमाडौं, १७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले महान् उद्देश्य र महान् गन्तव्य बोकेर अघि बढेको पार्टी भएको बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सबै नेपाली जनता सुखी हुनुपर्दछ भन्ने सोचका साथ एमाले अघि बढेको बताउनुभयो । सुखी हुनको लागि गरिबी र अभाव हुनु नहुने बताउँदै ओलीले त्यसका लागि अनुकूल वातावरण बनाउने उद्देश्य बोकेर नेकपा एमाले अगाडि बढेको ओलीले प्रष्ट पार्नुभयो ।

हरेक नागरिकले सुरक्षित, निर्भय र सम्मानपूर्ण रूपले बाँच्न पाउनु पर्नेमा उहाँले जोड दिनुभयो । समृद्ध नेपाल र सुखी नेपाली एमालेको अन्तिम लक्ष्य भएको अध्यक्ष ओलीले बताउनुभयो ।

‘हाम्रो अन्तिम गन्तव्य सुखी नेपाली हो, बिना समृद्धि सुख प्राप्त हुँदैन, सुखको लागि समृद्धि आवश्यक छ ।’ उहाँले भन्नुभयो ।

एमाले राजनीतिका लागि राजनीति गर्न नआएको अध्यक्ष ओलीले बताउनुभयो । एमालेको राजनीति केही व्यक्तिको स्वार्थ पूरा गर्नमा केन्द्रित नभएको उहाँले स्पष्ट पार्नुभयो । एमालेले देश बनाउनको लागि र जनताका समस्या समाधानका लागि राजनीति गरेको ओलीले बताउनुभयो ।

अध्यक्ष ओलीले आज पनि एमालेका ५ लाख सदस्यहरू यो अभियानमा देशभरि खटिरहेका बताउनुभयो । कम्तीमा ५ लाख कार्यकर्ता आज पनि देशभरि क्रियाशील रहेका ओलीले बताउनुभयो । एमालेका जति क्रियाशील पार्टी सदस्य नेपालका अन्य कुनै राजनीतिक दलमा नभएको उहाँले उल्लेख गर्नुभयो ।

एमालेले संसद्, सरकार र सडक तीनवटै ठाउँबाट देश बनाउने काम गर्ने ओलीले बताउनुभयो । एमाले नेता कार्यकर्ता अनुशासित रूपमा एकताबद्ध भएर नमुना काम गर्ने गरी अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

पार्टी भित्र कुनै कमजोरी भए एक ठाउँमा बसेर आलोचना, आत्मालोचना गर्नुपर्नेमा ओलीले जोड दिनुभयो । तर बाहिर नचाहिने टिका टिप्पणी गरेर हिँड्नु ठिक नहुने उहाँले बताउनुभयो । आलोचना भनेको सच्चिनको लागि सहयोग गर्ने कुरा भएको ओलीले प्रष्ट पार्नुभयो ।

अहिले समाजमा अनेक खालका असन्तुष्टि रहेका बताउनुभयो । हरेक मानिस अर्काको टिका टिप्पणी गर्न र नाक खुम्च्याउन पाउँदा रमाउने स्थिति रहेको ओलीको भनाइ छ । यसले समाजलाई अघि नबढाउन ओलीको धारणा छ । समाजलाई अघि बढाउन सकारात्मक सोचका साथ अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । गल्ती भयो भने समयमा नै सच्याएर अघि बढ्नु पर्ने तर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो ।

२०८४ मा एमालेले सबै ठाउँमा जित्नुपर्ने र देशको शासन सत्ता लिनुपर्ने उहाँले बताउनुभयो । एमालेले मिसन २०८४ मार्फत शासन सत्ता प्राप्त गरेर देश बनाउने काममा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

ओलीले देश बनाउने पार्टी नेकपा एमाले मात्र भएको बताउनुभयो । त्यसैले सबैलाई एमालेमा आबद्ध हुन ओलीले आह्वान गर्नुभयो । ‘एमाले हो देश बनाउने पार्टी, आउनुहोस् एमालेमा सामेल हुनुस् ।’ अध्यक्ष ओलीले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित