बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

राष्ट्रहितलाई केन्द्रमा राखी बढ्दो भूराजनीतिको विश्लेषण जरुरी : परराष्ट्रमन्त्री श्रेष्ठ

दैनिक नेपाल २०८१ असार १७ गते १८:४३

काठमाडौं, १७ असार । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रहितलाई केन्द्रमा राखी बढ्दो भूराजनीतिको विश्लेषण जरुरी रहेको बताउनुभएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश र जनताको आधारभूत हितलाई ध्यानमा राख्दै विकास साझेदार लगायत विश्व समुदायसँग सम्बन्ध राख्ने तथा विकसित भूराजनीतिक घटनाक्रमको मापन हुनुपर्ने धारणा राख्नुभएको हो ।

नेपालको आर्थिक, प्राविधिक एवम् सैन्य क्षमताको सन्दर्भ जोड्दै परराष्ट्रमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थायित्व र राष्ट्रिय स्वतन्त्रताका लागि कूटनीतिनै पहिलो र अन्तिम प्रतिरक्षा को माध्यम हो ।’’

कूटनीति एवम् वार्ता, अन्तर्राष्ट्रिय सम्बन्धको उपयुक्त सञ्चालनका कारण नेपाल एशियामा पुरानो देशहरु मध्ये रहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले देशका कूटनीतिज्ञ तथा कूटनीतिसँग सम्बन्धित संस्थाहरुको क्षमता अभिवृद्धि गर्न ठोस प्रयास हुनुपर्ने बताउनुभयो ।

जलवायु परिवर्तन, साइवर र ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय संगठित अपराध, कृतिम बौद्धिकता जस्ता नविन र विकास हुँदै गरेका चुनौतीका कारण अन्तर्राष्ट्रिय सहयोग र संवादको दायरा थप फराकिलो भएको उहाँले उल्लेख गर्नुभयो ।

भूराजनीतिक प्रतिस्पर्धा तथा नयाँ संवेदनशील मुद्दाहरुका कारण कूटनीतिज्ञको महत्त्व झनै बढेको धारणा राख्दै परराष्ट्रमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘नयाँ चुनौतीहरुको सामना गर्न हामीसँग अझै बढी कूटनीतिक दक्षता र निपुणता हुनुपदर्छ ।’’

प्रतिक्रिया
सम्बन्धित