बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

धनकुटाको विकासका लागि मन्त्री राईको पहल : संघीय सरकारबाट आयो ८ अर्ब बजेट

दैनिक नेपाल २०८१ असार १७ गते १८:५६

धनकुटा, १७ असार । संघीय सरकारले धनकुटामा आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि करिब ८ अर्ब बजेट विनियोजन गरेको छ ।

प्रेस चौतारी धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा खानेपानी मन्त्री राजेन्द्रकुमार राईले खानेपानीसहित विभिन्न मन्त्रालयबाट धनकुटाको विकासका लागि ७ अर्ब ९५ करोड ५ लाख बजेट विनियोजन भएको जानकारी दिनुभएको हो ।

चौतारी धनकुटाका अध्यक्ष रबिन कटेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मन्त्री राईले सबै मन्त्रालयमार्फत आफ्नो गृह जिल्ला धनकुटामा आएको बजेटको विवरण प्रस्तुत गर्नुभएको थियो । नियमित आउँने बजेट भन्दा यसपटक निकै ठूलो बजेट जिल्लामा ल्याउँन पाउँदा धेरै खुशी लागेको भन्दै मन्त्री राईले अब जिल्लाको विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

‘मलाई धनकुटेली जनताले जिताएर पठाएको हुनाले मैले पहिलो प्राथमिकता धनकुटा र धनकुटेली जनतालाई दिएर काम गरिरहेको छु ।’ मन्त्री राईले भन्नुभयो, ‘धनकुटाको विकासका लागि निरन्तर प्रयास र प्रयत्न गरेको छु, यो पटक झण्डै ८ अर्ब बजेट धनकुटामा ल्याउँन सफल भएका छौँ, यसले जिल्लाको विकासका लागि निकै ठूलो काम हुन्छ ।’

मन्त्री राईले खानेपानी मन्त्रालयबाट मात्रै धनकुटामा २ अर्ब ५० करोड बजेट विनियोजन गर्नुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट २ अर्ब १० करोड र शहरी विकास मन्त्रालयबाट १ अर्ब ५ करोड बजेट आएको मन्त्री राईले जानकारी दिनुभयो । अन्य मन्त्रालयबाट पनि नियमित आउँने भन्दा धेरै बजेट धनकुटामा आएको छ । खानेपानी मन्त्रालयबाट सहिदभूमि वृहत खानेपानी आयोजनाका लागि ७ करोड बजेट विनियोजन भएको छ । अरुण नदीबाट लिफ्टीङ प्रविधिमार्फत घुमाउने डाँडामा पानी ल्याएर सहिदभूमिका सात वटै वडामा वितरण गर्ने योजना छ ।

छथर जोरपाटी वृहत खानेपानी आयोजनाका लागि ९ करोड, धनकुटा बजारको खानेपानी व्यवस्थापनका लागि ७ करोड, महालक्ष्मी वृहत लिफ्टीङ खानेपानी आयोजनाका लागि ६ करोड र पाख्रीवास भुल्के खानेपानीका लागि ३ करोड बजेट विनियोजन भएको छ । धनकुटामा खानेपानीका करिब ५० वटा आयोजनामा २ अर्ब ५० करोड बजेट आएको हो ।

भौतिक पूर्वाधार मन्त्रालयबाट करिब १५ वटा सडक र चार वटा पक्की पुल निर्माणका लागि बजेट आएको छ । सिधुवा जितपुर लेगुवा हुँदै भोजपुर जोड्ने सडक कालोपत्रेका लागि बजेट विनियोजन भएको छ । पाख्रीवास मुगा हुँदै घोडेटार जोड्ने सडक कालोपत्रेका लागि पनि बजेट छुट्टाइको छ ।

तमोर नदीमाथि तीन वटा पक्की पुल र अरुण नदीमाथि एउटा पक्की पुल निर्माण गर्न बजेट विनियोजन भएको छ । साँगुरीगढी र सहिदभूमिको सीमास्थित चिम्राहाघाट, पाख्रीवास र पौवादुम्वाको सीमास्थित अधेरीघाट, सहिदभूमि र साँगुरीगढीको सीमास्थित सफाइटार र धनकुटा नगरको छिम्सुवा र साँगुरीगढीको उखुवारी जोड्ने पक्की पुल बनाउँन बजेट विनियोजन भएको मन्त्री राईले जानकारी दिनुभयो ।

मन्त्री राईले देशभरको खानेपानी समस्या हल गर्न आफू लागिरहेको भन्दै चाँडै सकारात्मक परिणाम देखिने जानकारी पनि दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित